काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट मार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । पछिल्लो समय महँगी बढेसँगै कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढाउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब कम्तीमा २ हजार ५ सय रुपैयाँ नघट्ने गरी बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए । ट्रेड यूनियनको मागको विषयमा अर्थमन्त्री शर्माले अहिलेको अबस्थामा खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएका छन् ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ । भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको निर्वाचन पनि हुने हुँदा तलब बढाउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।
चालू आवको बजेट सार्वजनिक गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो २ हजारले बढाएका थिए । यसपालि भने तलब नै २ हजार ५ सय रुपैयाँले बढाउने तयारी छ । भत्ताको भार सरकारलाई तत्कालका लागि मात्रै परे पनि कर्मचारीको मासिक तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्नेछ । बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृत्तिभरण) व्यवस्थापनमा पनि चाप भने पर्नेछ ।