• बैशाख २८ २०८३, सोमबार

गृहमन्त्री खाँणसंग अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता

जेष्ठ ८ २०७९, आईतवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपविदेशमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको आपसी सहयोग र द्वीपक्षीय सम्बन्धबारे छलफल भएको छ । दुई देशबीच  विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको गृह मन्त्रलायले जानकारी दिएको छ ।

गृहमन्त्री खाँणले भूकम्प पछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगको सराहना गरेका थिए ।

भेटमा गृहमन्त्री खाँणले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

यस्तै अमेरिकी सरकारको तर्फबाट उपविदेशमन्त्री जियाले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी गराएकी थिइन् । अमेरिकी  सहयोग नियोग (एमसीसी) संसद्‍बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयमा धन्यवाद व्यक्त गरेकी थिइन् ।