सल्यान । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीलाई क्षति पुग्ने खालका गतिविधि गरेको भन्दै अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान नगर प्रमुखलाई पार्टीले कारबाहीको माग गरेको छ ।
बागचौर नगरपालिकाका निवर्तमानमा प्रमुख लोकमान बुढाथोकीलाई कारबाहीको माग गरिएको हो । शनिबार बसेको माओवादी केन्द्र बागचौर नगर कमिटीको तेस्रो विस्तारित बैठकले बुढोथोकीलाई कारवाही गर्न माग गरेको माओवादी केन्द्र बागचौर नगर कमिटीले जनाएको छ ।
बैठकबाट नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका बुढाथोकीले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार पराजित गराउने गतिविधिमा संलग्न रहेको आरोप लगाउदै जिल्ला समन्वय समितिमार्फत् प्रदेश कमिटीसँग कारबाहीको माग गर्दै सिफारिस गरिएको जनाएको छ ।
बुढाथोकी सोही नगरपालिका वडा नं ८ र ९ को पार्टी कमान्ड इन्चार्ज समेत हुन् । स्थानीय तह निर्वाचनमा ती दुवै वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि बुढाथोकीले कमान्ड इन्चार्जको जिम्मेवारीबाट नैतिकताको आधारमा पनि राजिनामा दिएको बताएका थिए ।
उनले आफ्ना उम्मेदवार पराजित नहुन, मतदाता बिचल्ली नहुन पार्टीले अनिवार्य समीक्षा गर्नुपर्ने भन्दै सामाजिक संजालमार्फत् सार्वजनिक गरिसकेका छन् । उनलाई कारवाहीका लागि अहिले नगर कमिटीले जिल्ला हुँदै प्रदेशलाई सिफारिस गरेपनि उताको निर्णय भने आउन बाँकी छ ।
त्यसैगरी शनिबारकै उक्त बैठकले पार्टीका नगर कमिटी सदस्य डिल्ली वलीलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । वलीले पनि निर्वाचन आफ्ना उम्मेदवारलाई पराजित बनाउने कार्य गरेको भन्दै नगर कमिटीले निलम्बनको निर्णय गरेको जनाएको हो ।