• बैशाख २३ २०८३, बुधबार

मतपरिणाम अद्यावधिक संकेत : ६ वटै महानगरमा गठबन्धनको हाबी, एमाले शून्यमा सिमित हुने सम्भावना

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौं । देशका गाउँ, नगर, उपमहानगरको तुलनामा महानगरको वार्षिक आम्दानी ४० करोड, ५०० सैय्याको बिशेषज्ञ सहितको हस्पिटल, रंगशाला, प्राबिधिक शिक्षालय, ट्रमिनल सहितको बसपार्क, तरकारी तथा फलफुल वितरण केन्द्र, कम्तिमा एक सपिङ मल हुनुपर्न प्रावधान छ ।

यही प्रावधानअनुसार महानगरपालिकाले महानगरको अख्तियार पाएका हुन् । यद्यपि महानगरको अख्तियारी पाउँदैमा सर्वेसर्वा हुने होइन । यसका लागि महानगर भित्रका यिनै कामकारबाही फत्ते गर्न मेयर, उपमेयर र केही सदस्य रहने स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरिएको छ ।

उक्त ऐनमा टेकेर स्थानीय सरकार सञ्चालनका लागि राज्यले निर्वाचन प्रणाली अपनाएको छ । सोही प्रणालीअनुसार प्रत्येक ५/५ वर्षको अन्तरमा स्थानीय तह निर्वाचन हुनेगर्छ । जसको माध्यमबाट गाउँ तथा नगर सरकार चलाउन मेयर/अध्यक्ष/सदस्यहरू निर्वाचित हुनुपर्ने हुन्छ । जसका लागि देशका ७ सय ५३ वटै पालिका निर्वाचन भएको छ ।

६ वटा महानगर, ११ वटा उपमहानगर, र ७ सय ३६ गाउँ र नगरपालिकाको नयाँ नेतृत्वका लागि गत वैशाख ३० मा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको आज ९ दिन पूरा भएको छ । तथापि आजसम्म पनि सबै पालिकाको मतपरिणाम भने अद्यावधिक भइसकेको छैन ।

यो समाचार तयार पर्दासम्म ६ सय ८२ पालिकाको मतपरिणाम अद्यावधिक भइसकेको छ । तर, गोलखबरले देशका ६ वटा महानगरपालिकाको हालसम्म अद्यावधिक मतपरिणामाथि सर्वेषण गरेको छ । जसअनुसार काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् । उनले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणामअनुसार ९१ हजार ९७२ मत गणना हुँदा बालेनले आफ्नो अग्रतालाई कायमै राखेका हुन् ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले १८ हजार १८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । गठबन्धनका साझा तथा नेकपा (एकीकृत समाजवादी)का उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले २४ हजार ९६४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजयकुमार सरावगीले १२ हजार ८७४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाटै नेपाली कांग्रेसका इम्तियाज आलमले १७ हजार ४०४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले ३ हजार ७४७ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रमुख उम्मेदवार चिरीबाबु महर्जनले २६ हजार २३६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३०७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेका मञ्जली शाक्य बज्राचार्यले १५ हजार १०६ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १० हजार ५३२ मत प्राप्त गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रमुखका उम्मेदवार रेणु दाहालले २७ हजार ४१२ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट बागी उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमला गुरूङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।

कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज अचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले अग्रता लिएकी छन् । उनले ३३ हजार २२१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ३२ हजार ९५९ मत प्राप्त गरेकी छन् ।

मोरङको विराटनगर महानगरमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला प्रमुखमा निर्वाचित भइसकेका छन् । उनी ३० हजार १७० मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरे ।

उपप्रमुखमा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेकी उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छन् । उनले २५ हजार ६८० मत प्राप्त गरिन् भने गठबन्धनका तर्फबाट उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरे ।

यसरी महानगरपालिकाको मतपरिणामलाई आकल गर्ने हो भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यसपटक ६ वटै महानगरपालिकामा पराजय भोग्ने निश्चित छ । यद्यपि उसले कुनै पनि महानगरमा जित हासिल गर्न सकेन भने २०७९ को स्थानीय तह निर्वाचनमा एमाले स्वतः शून्यमा सिमित हुनेछ । उसले महानगरमा आफ्ना जनप्रतिनिधि पाउन अब उप्रान्त ५ वर्ष कुर्नुपर्ने हुन्छ ।