काठमाडौं । लौरो चुनाव चिन्ह काठमाडौंका मेयर बन्न लागेका बालेन साह यतिबेला देशभित्र मात्रै नभए विश्वभर नै चर्चामा छन् । तर, लौरो चुनाव चिन्ह लिएर बालेन साहभन्दा अगाडि मेयर पदमा निर्वाचित भने हर्क राई भएका छन् ।
एक लाखभन्दा बढि मतदाता भएको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका हर्क राईले कांग्रेस र एमालेका उम्मेदवारलाई धुलो चटाउँदै मेयरमा बिजयी भएका हुन् ।
उनलाई निर्वाचन आयोगले औपचारिक विजय घोषणा गर्न भने बाँकी छ । मत गणनाको अन्तिम परिणाम आउन बाँकी भएपनि उनको मतान्तर गन्न बाँकी मत भन्दा बढि भएपछि जित निश्चित भएको हो । पछिल्लो तथ्याङ्क अनुसार उनले १५,०७७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका किशोर राईले १२,७१० मत प्राप्त गरेका छन् । अब गणना गर्न जम्मा दुई हजार मात्रै मत बाँकी रहेको छ ।
लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका बालेन साहले सिंगो देश हल्लाइरहेको बेला कम चर्चामा रहँदै धरान उपमहानगरपालिकामा राईले जितेर चमत्कार गर्न सफल भएका छन् ।