नेपालगञ्ज । स्थानीय तह निर्वाचन अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन् ।
अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरे ।
शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याएका थिए । नेकपा एमालेकी पद्मावती यादवले तीन हजार १२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए ।
उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली काँग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन् । श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा काँग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याइन् ।
तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गरेकी छन् ।
गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा काँग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा काँग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा काँग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् ।