काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अबस्थामा कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ रोकिएको छ।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले अहिले सपथ रोकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।
उपाध्याय विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अबस्थामा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए ।तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, बालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिवंगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनले एमालेका धरमबहादुर थापालाई पराजित गदै मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यायले ३ हजार १३४ मत ल्याए भने उनीका प्रतिस्पर्धी एमालेका थापाले २ हजार ७१५ मत मात्रै ल्याए।