काठमाडौं । काठमाडौं महानगरपालिकासहित अरु दुई ठूला शहर जनकपुरधाम र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । साथै पाँच पालिकामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरिसकेको छ । यीबाहेक अरु सात पालिकामा कतै अग्रस्थानमा छन् भने कतै बलियो प्रतिश्पर्धी छन्।
अहिलेसम्म भोजपुर, ओखलढुंगा, बैतडी र चन्दननाथका एउटा–एउटा तथा कालिकोटमा दुई वटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अहिलेसम्म निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितलाई करिब ८ हजार मतले पछि पारिसकेका छन्। उता जनकपुरधाम र धनगढीमा पनि स्वतन्त्र उम्मेदवारको फराकिलो मतान्तर कायम गरेका छन्।
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले ३९५६ मत पाउँदा एमालेका शिवशंकर साहले २०८६ मत पाएका छन्। तेस्रो स्थानमा पनि स्वतन्त्र नै छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत पाएका छन्।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले करिब ५ हजारको अग्रता बनाएका छन्। हमालले १० हजार ८२५ मत पाउँदा कांग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन्।
धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले बलियो चुनौती पेश गरिरहेका छन्। उनी थोरै मतान्तरमा दोस्रो स्थानमा छन्। अग्रस्थानमा ७७१७ मतसहित कांग्रेसका किशोर राई छन्। साम्पाङले अहिलेसम्म ७४६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी एमालेकी मन्जु भण्डारीले ६४२५ मत पाएकी छिन्।
बर्दिबास नगरपालिकामा मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवार अगाडि छन्। स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले ७८३० मत पाउँदा माओवादी केन्द्रका राजु खड्काले ४०९५ मत पाएका छन्। उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी तारा देवीले ५२५२ मत पाउँदा माओवादी केन्द्रकी कृष्णमाया गौतमले ३९१४ मत पाएकी छन्।
धुलिखेल नगरपाकिलामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। तर, उनी एमाले उम्मेदवारभन्दा करिब २ हजार मतले पछाडि परेका छन्। एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठले ५७४८ मत पाउँदा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ३७०७ मत पाएका छन्।
उता डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। यहाँ माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार मात्र प्रतिश्पर्धामा छन्। माओवादी केन्द्रका तेम्बा गुरुङले २५७ मत पाउँदा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङले १६१ मत पाएका छन्।