• बैशाख २३ २०८३, बुधबार

लोपोन्मुख लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष निर्वाचित

जेष्ठ ३ २०७९, मंगलवार

इलाम । इलामको रोङ गाउँपालिकामा लोपन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तहको संरचना कार्यान्वयन भएपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुनःसंरचनाको क्रममा रोङ लेप्चा भाषाबाट राखिएको पालिकाको नाम हो । राजकुमार लेप्चा त्यही पालिकाको वडानम्बर ४ बाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

लेप्चा समुदायबाट पहिलो संविधानसभामा दुई जनाले प्रतिनिधित्व गरेका थिए । सकुन्तला लेप्चा र टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्य भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकामा बीरबहादुर लेप्चा कार्यपालिका सदस्य निर्वाचित भएका थिए । जिल्लाको विभिन्न पालिकामा गरेर पाँचजना वडासदस्यमा निर्वाचित भएका थिए ।

रोङ गाउँपालिका–४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३४१ मत पाएका थिए ।

अन्य वडासदस्यहरुमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिनादेवी तामाङ यसअघि नै निर्विरोध भएकी थिइन् ।

यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली कांग्रेसका मातृका बराल विजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए ।

वडाध्यक्ष बाहेक सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडासदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरादेवी विश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।