• बैशाख २३ २०८३, बुधबार

विप्लवकै वडामा पराजित भए स्वतन्त्र उमेदवार, कस्ले जिते ?

जेष्ठ ३ २०७९, मंगलवार

पार्टी फुटेफुटोस् तर निर्वाचनमा नगइ नछाड्ने जिद्ददीवाल नेता नेत्रविक्रम चन्दको आफ्नै वडामा पनि उनले उठाएका उमेदवारले पराजय भोगेका छन् ।

उनको घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका रामगोपाल चौधरीले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन् ।

थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे । सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिन्हबाट मालबहादुर घर्तीमगरले प्रतिस्पर्धा गरेका थिए ।

उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए । वडा सदस्य तर्फ माओवादी केन्द्रका जोखबहादुर पुन र रामनरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।

त्यसैगरी माओबवादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ती दोस्रो बनिन् ।

दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगरप्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा विप्लवको घर र पार्टी केन्द्रीय कार्यालय समेत छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो । संसदीय व्यवस्थाले गराउने चुनावलाई हेर्ने र बुझ्ने विषयमा मतभिन्नता भएका कारण विप्लवको पार्टी २ टुक्रा भएको छ ।

पार्टी चुनावमा नजाने तर स्वतन्त्ररुपमा उठेका देशक्त उमेदवारलाई सघाउने पार्टी नीति विपरित विप्लव आफैले केन्द्रीय नेतालाई  चुनावमा उठ्न लगाएपछि सो कदम पार्टीको केन्द्रीय समितिको बैठकले लिएको नीतिको विपरित भएको भन्दै सो पार्टीका नेता सुदर्शन र धर्मेन्द्र बास्तोलाले अर्को पार्टी गठन गरिसकेका छन् ।

न पार्टी सिंगो रहने न त चुनावमा जितिने, निकै संकटपूर्ण अवस्थामा यतिबेला विप्लव नेकपा रहेको छ ।