सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाको वडामा उनकै पार्टी पराजित भएको समाचार छ ।
सो पार्टीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज ज्वालाको वडामै नेकपा एकीकृत समाजवादी पराजित भएको हो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली काँग्रेसका थुमबहादुर बिसीले पराजित गरेका हुन् ।
बिसीले ६२३ मत ल्याएर जितेका हुन् । यो नगरमा मेयर/उपमेयरमा सत्तारुढ तीन दलबीच तालमेल भए पनि वडाहरूमा तालमेल हुन सकेन । ज्वालाको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दा पनि समाजवादी तेस्रो स्थानमा सीमित रह्यो ।
दोस्रोमा एमालेका दिपबहादुर खड्काले ५५७ मत ल्याए । महिला सदस्यमा एमालेकी भाग्यवती बस्नेत ६१२, दलित महिला सदस्यमा एमालेकी विष्णु विक ५५७, सदस्यमा एमालेका राजेन्द्र खत्रीले ५३६ र एकीकृत समाजवादीका लोकबहादुर बुढा ५१५ मत ल्याएर विजयी भएका छन् ।
मेयरका तीन दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादीका कर्णबहादुर बुढाथोकी छन् भने उपमेयरका काँग्रेसका पुरुषोत्तम आचार्य छन् । दिउँसो दुई बजेसम्मको मत परिणामअनुसार मेयरका उम्मेदवार बुढाथोकीले २ हजार १९८ मत पाएका छन् भने एमालेका गोविन्दकुमार पुनले १ हजार २४३ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाटै काँग्रेसका पुरुषोत्तम आचार्यले १ हजार ५०३ मत प्राप्त गरेका छन् भने एमालेको सहयोगमा उपमेयरमा उठेका स्वतन्त्र उम्मेदवार दीपेन्द्र विष्टले १ हजार २५१ मत पाएका छन् ।