प्रदीप ओली, जाजरकोट ।
पार्टी फुटाउन तयार भए तर चुनावमा जाने हुट्हुटीले छोडेन खडकबहादुर विश्वकर्मा प्रकाण्डलाई । पार्टीको केन्द्रीय समितिको बैठक पूर्व नै चुनाव सम्बन्धि विवादास्पद अभिव्यक्ति दिएर चौतर्फी आलोचना झेलेका विप्लव समूहका प्रवक्ता प्रकाण्ड अहिले गृह जिल्ला कालिकोटमा छन् ।
स्थानीय चुनावमा जिल्लाका सबै पालिकाहरु तथा केही वडामा समेत उम्मेदवारी दिन लगाएका प्रकाण्डको गृहजिल्लामा पनि विप्लवको अवस्था नाजुक देखिएको छ ।
पार्टी केन्द्रको निर्णय विपरित चुनावको लागि ज्यान फालेर जीवनमरणको लडाइँ बनाएका प्रकाण्ड पार्टी बैठक लगत्तै काठमाडौं आएर ३ दिनभित्र कालिकोट पुगेका थिए ।
कालिकोटमा उनले जिल्लाका नरहरिनाथ गाउँपालिकामा आफ्ना विश्वासपात्र तथा केन्द्रीय सदस्य एटम बिसीलाई अध्यक्ष र उपाध्यक्षमा आफ्नी बुहारी कलसा विकलाई उठाए, तर चर्को आलोचना पछि बुहारीको ठाउँमा बैसाख १८ गते सहिद पत्नि कासिपुरा शाही ‘राधिका’लाई दिए भने आफूले जित्ने भनिएका नरहरिनाथ अन्तर्गतका ४ वडा क्रमश १, ४, ५ र ६ मा नेपाली कांग्रेसका मान्छेलाई स्वतन्त्र बनाएर उम्मेदवार उठाए पालिकामा एटमलाई जिताउने शर्तमा ।
त्यसो त प्रकाण्डले जिल्ला स्तरमा नरहरिनाथका लागि नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, कालिबहादुर सहकारीसँग छलफल गरेका थिए । यस्तै रास्कोटका लागि नेकपा एमाले अध्यक्ष नेश्नल शाहीसँग छलफल गरेका थिए । रास्कोटमा नेता शाही तयार भए तर फिल्डमा कार्यकर्ताले नमानेपछि प्रकाण्डले भने अनुसार हुन सकेन ।
यस्तै तिलागुफामा आफ्ना ज्वाइँलाई उठाए तर नरहरिनाथ, रास्कोट र पचालझरनामा जिताउन कांग्रेस र एमालेसँग छलफल पश्चात् उम्मेदवारी फिर्ता गरे । कांग्रेस एमालेबाट विश्वस्त नभएका प्रकाण्ड २८ गते नेकपा माओवादी केन्द्रको शरणमा पुगे ।
रास्कोटमा निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग नेता भरत बमलाई साथमा लिएर ३ घन्टा छलफल गरे । नरहरिनाथ र रास्कोट आफ्नो पार्टीलाई छोड्न भने तर शाहीले उक्त प्रस्ताव ठाडै अस्विकार गरेको स्रोतको दावी छ । रास्कोट नभएपनि नरहरिनाथ दिन पुनः प्रस्ताव गर्दापनि अस्विकार भएपछि प्रकाण्ड पुन कांग्रेस एमालेसँग छलफलमा जुटेको स्रोतले बतायो ।
यसैबिच चुनावपछि अहिले रास्कोट र पचालझरना बाहेक जिल्लाका सबै निकायमा मत गणना भइरहेको छ । रास्कोटको सिम्नाथ मतदान केन्द्र र पचालझरनाको खार्दु मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने उक्त केन्द्रमा अहिले मतदान चलिरहेको छ ।
प्राप्त विवरण अनुसार अहिलेसम्म नरहरिनाथका–१ मा कांग्रेस कार्यकर्ता तथा विप्लव प्रकाण्डका प्रतिनिधि शेरबहादुर विस्टलाई पराजित गर्दै माओवादी केन्द्रका निर्माण विष्ट विजयी भएका छन् । यो वडा नेकपा विप्लव समूहका केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री नवीन विश्वकर्माको र विप्लवका केन्द्रीय सदस्य डण्ड विक बलमानको हो ।
यस्तै वडा नं ४ मा पनि कांग्रेस कार्यकर्ता तथा विप्लवका उम्मेदवार विन्दमान बोगटी पराजित भएका छन् । यो वडा विप्लवका स्वकीय सचिव अडिक बोगटी, विप्लवका धादिङ सेक्रेटरी कुशल बोगटी र सुर्खेतका सेक्रेटरी धुब्र बोगटीको गृहवडा हो ।
यस्तै प्रकाण्डको पूर्व गाविस माल्कोट (हाल ७ नम्बर वडा)मा नेपाली कांग्रेसका खाम्म बहादुर बटालाले बाजी मारेका छन् भने अहिलेसम्म नरहरिनाथ गाउँपालिकामा १०१३ मत सहित कांग्रेस पहिलो, ८२६ मत सहित माओवादी केन्द्र दोस्रो र ७३८ मतसहित एमाले तेस्रो स्थानमा छ । यस्तै प्रकाण्डका विश्वास पात्र एटम बिसीले करिब ४५ सय मत गन्दा ४०१ मत प्राप्त गरेका छन् ।
यस्तै जिल्लाका शान्नित्रिवेणीमा विप्लवका रुपसिहं बोहोरा छन् त्यहाँ उनी आठौं स्थानमा छन् । पहिलो संविधान सभाको सदस्य बनेकी विप्लवका केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्याय रास्कोटको मेयरमा लडेकी छिन् । जनस्तरबाट सांसदको गरिमासमेत कायम गर्न नसकेको भन्दै उनको व्यापक आलोचना भएको छ ।
यस्तै विप्लवको गृहजिल्ला कपिलवस्तुको शिवनगरमा पनि लज्जास्पद हार बेहोर्नु परेको छ । विप्लवको घर भएको शिवनगरमा राप्रपाले जित हात पारेको छ ।
यता नेता सन्तोष बुढामगरको जन्मथलो मानिएको थबाङ्गमा साथै पार्टीको निर्णय विपरीत देशव्यापी उम्मेदवार उठाएका विप्लव प्रकाण्डले अहिलेसम्म भने कुनै ठाउँमा तेस्रो वा चौथो स्थानसम्म पनि आएको देखिंदैन । पार्टी फुटाएरै भएपनि चुनावमा जानैपर्छ भन्न विप्लव–प्रकाण्डले चुनावमा भएको सर्वत्र हारपछि के गर्लान् ? चासोको विषय बनेको छ ।
स्मरण रहोस् विप्लव समूह बनेपछि एकीकृत जनक्रान्तिको नाममा १२ जना निहत्था कार्यकर्ताले ज्यान गुमाएका छन् भने चुनाव उपयोगको नीति लिए पश्चात् ३० गते उदयपुरमा २१ वर्षीय नविनको ज्यान गएपछि कुनै उपलब्धि बिना अनाहकमा क्षति भएको भन्दै विप्लव–प्रकाण्डविरुद्ध चौतर्पी आलोचना भइरहेको छ ।