काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धनबहादुर विकको प्यानल विजय भएको छ ।
विकले २ हजार २८५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा विजयी विक जनयुद्धका घाइते हुन् ।
यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । प्रकाश माओवादीका तर्फबाट यसअघि पनि अध्यक्ष पदमा विजयी भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।
यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जीतबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् ।
अध्यक्षमा विजयी धनबहादुर विकको राजनीतिक जीवन :
धनबहादुर विक बुबा गंगाबहादुर विक र आमा मनरुपा बगाले मगर विकको कान्छो छोराका रुपमा २०२७ सालमा भदौ ९ गते बागलुङको ताराखोला (साविक वडा नं ७ करिमेला)मा जन्मिएका हुन् । अध्ययनको क्रममा नै कम्युनिष्ट पार्टीमा झुकाव राख्दै अगाडि बढेका उनी विस्तारै विचार र सिद्धान्तले खारिंदै गए । २०४७ सालमा नेपाल माध्यमिक विद्यालयमा संगठनात्मक रुपमा अनेरास्ववियुबाट अगाडि बढेका उनी २०४८ सालमा विद्यार्थी संगठनको ईकाइ समितिमा संगठित भए ।
देशको राजनीतिक परिवर्तनसँगै उनी २०५० सालमा माओवादीको लडाकु दल सदस्य भए । उनले तारा गाविसको किसान संघको अध्यक्ष भएर पनि काम गरे । २०५१ सालमा लडाकु दलको तालिममा माझखर्कमा १ हप्ते तालिम लिए ।
उनले २०५३ साल असार ६ गते माओवादीको पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि १ महिना मै पूर्णकालीन सदस्य भई पार्टीको काममा लागे । यस समयमा नै उनले राज्यबाट विभिन्न यातना भोग्नु परेको थियो ।
२०५४ सालमा पार्टी एसीएम (एरीया समिति सदस्य) भई लडाकु दलको सेक्सन कमान्डर भएर काम गरे । विभिन्न संघर्ष झेल्दै आएका उनी २०५५ सालमा आफैले बोकेको हतियार पड्किन गई खुट्टामा गोली लाग्यो । उपचार खर्च आफैले जुटाई पोखरामा गई उपचार गराए ।
स्वास्थ्यमा सुधार आएसँगै २०५६ सालमा नेपाल दलित मुक्ति मोर्चा बाग्लुङको संस्थापक अध्यक्ष भएर काम गरे । २०५७ सालमा पार्टी एसीएम भई निर्माण विभागमा पनि काम गरे ।
२०५८ सालमामा तत्कालीन राज्यले संकटकाल लागु गरी माओवादी जनयद्धमाथि दमन गर्ने क्रममा शाही सेनाले उनको घर जलाई दियो । यसै समयमा उनको परिवारबाट उनको साइँला दाजुको छोरी लक्ष्मी विक ‘हिक्मता’ दाङमा दोहोरो भिडन्तमा परि सहादत भइन् । सोही साल उनको घर शाही सेनाले जलायो भने सोही साल परिवारको सदस्य पनि युद्धमा गुमाए । यस समयमा उनी जिल्लाको दक्षिणी भेगमा खटिरहेका थिए ।
२०५९ सालमा चैत्र २३ गते उनी नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्यमा चयन भए । काम गर्दै जाँदा २०६० सालमा उनी पार्टीको जिल्ला समिति सदस्यको जिम्मेवारीमा बढुवा भए ।
जनयुद्ध चर्किंदै जाँदा २०६१ साल चैत्र ७ गते म्याग्दीको जिल्लाको सदरमुकाम बेनी आक्रमणमा उनको बायाँ हात र खुट्टामा गोली लाग्यो । गोलीको पीडाको असर उनले अहिले पनि भोगिरहेका छन् ।
हिमाल संगठनको जिम्मेवारी बहन गर्दै जानेक्रममा २०६२ सालमा नेपाल दलित मुक्ति मोर्चाको गण्डक क्षेत्रको संयोजक भए । यही बिचमा उनलाई पार्टीले गण्डकी, धौलागीरी र लुम्बीनी अञ्चलको पार्टी साधारण शाखामा काम गर्ने जिम्मा पनि सुम्पेको थियो । तत्कालीन समयमा पार्टीका सबै नेतृत्वलाई एक तह घटुवा गराई कार्यक्षमता बढाउने अभियानमा एक तह तल झर्नुपर्नेमा समयमा उनी भने एकतह माथी बढेका थिए ।
यसमा उनको क्षमता र कार्यकुशलताले गरेको थियो । पार्टी र संगठनकै कामको सिलसिलामा उनी २०६२ सालमा जिल्ला सचिवालय सदस्य, २०७३ माओवादी केन्द्रिय आयोजक समिति सदस्य, २०७८ मंसिरमा २६ गते प्रदेश समिति सदस्यको जिम्मेवारीमा पनि रहेका काम गरिसकेका छन् ।
उनी अहिले विभिन्न संस्थामा रहेर सामाजिक गतिविधि अगाडी बढाएका छन् । उनी हाल एक संस्थाको अध्यक्ष तथा संचालक भई विभिन्न रोजगार दाताको रुपमा पनि क्रियाशिल छन् ।
यही विभिन्न योगदानको आधारमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले उनको मूल्यांकन र कदर गर्दै दलित समुदाय तथा समानुपातिक समावेशी आधारलाई पूर्णता दिनका लागि ताराखोला गाउँपालिकाको अध्यक्ष पदको टिकट दिई गठबन्धनबाट अध्यक्ष पदमा उमेदवारी दिएका छन् । चुनावी रणनीतिक योजना अनुसार उनी हाल यतातिर कृयाशील रहेका छन् । उनले विजयको लागि जनता र पार्टीको मुद्धा स्थापित गर्न लागिपर्ने बताए ।