काठमाडौं । समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको बताएका छन् ।
लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु भएको भट्टराईको भनाइ छ । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुलारूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन ।’
गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको भट्टराईको भनाइ छ । तर कसैले खुला रुपमा मतदान गर्छ भने त्यसलाई रोक्न नहुने उनको भनाइ छ ।
भट्टराईले आफूले गरेको मतदान सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला उनको यस्तो धारणा आएको हो ।