• बैशाख २३ २०८३, बुधबार

डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्न गृह मन्त्रालयको आग्रह

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । गृह मन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदानमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको हो ।

‘यसका बाबजुद कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी एकाइ, प्रहरीको नम्बर १००, प्रजिअ वा प्रहरी प्रमुखलाई सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदानस्थलमा भरपर्दो सुरक्षा व्यावस्था मिलाइएको जनाएको छ ।