काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थललाई सुरक्षित बनाउन फलामको तारजाली लगाइएको छ। अघिल्लो चुनावमा मतपत्र च्यातिएका कारण पुनः दोहोर्याएर मतदान गराउनु परेको भरतपुर महानगरपालिकामा यस पटक मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली लगाइएको हो।
मत गणनाका लागि तय गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हललाई तारबार गर्ने र सीसीटीभी जडान गर्ने काम सम्पन्न गरिएको छ । केन्द्रको सी ब्लकमा मत गणना गर्ने तय भएकाले उक्त हलको वरपर फलामे डण्डीको बार लगाइएको छ भने जालीको बार हालिएको छ ।
हलमा सबैतिर सीसीटीभी पनि जडान गरिसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना ७ समूहमा गरिने भएको छ । मत गणना स्थलमा तीन तहमा सुरक्षाकर्मी परिचालन पनि गरिने भएको छ ।भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।
मतदानका लागि २ सय २ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचन भोलि (शुक्रबार) हुँदै छ।