काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको छ । प्रेस काउन्सिल नेपालले मौन अवधिको पहिलो दिन निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका२७ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भएको मितिबाट निरन्तर सञ्चारमाध्यमका सामग्री र पत्रकारका पोष्टहरूमा अनुगमन गरिरहेको काउन्सिलले मौन अवधिमा काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ । काउन्सिलले सञ्चारमाध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको छ । जसमध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् ।
फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएका छन् भने ५ जना पत्रकारले कुनै प्रतिक्रिया नदिएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
यसैबीच मौन अवधिमा १० ओटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दर्ता नभएका तथा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण गरेका वेबपोर्टललाई यस्तो कारबाही गरिएको बोहराले बताए ।