काठमाडौं । विप्लव नेकपामा विभाजन आए लगत्तै बनेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कास्की जिल्लाको विस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
कास्कीको पोखरामा भएको बैठकलाई सम्बोधन गर्न सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोला नै पुगेको समाचारमा जनाइएको छ ।
उनले प्रशिक्षणमा विप्लवबाट आफूहरुले विद्रोह गर्न पर्नुका कारणहरु कार्यकर्तालाई जानकारी गराए ।
विप्लवमा देखिएको संसदीय संशोधनवाद, सिद्धान्त तथा नीतिगतरुपमा ढुलमुले प्रवृतिका कारण आफूहरुले कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि त्यो पार्टीबाट विद्रोह गरी क्रान्तिलाई निरन्तरता दिएको बताए ।
पोखराको पिएन क्याम्पसमा भएको प्रशिक्षण कार्यक्रममा बास्तोलाले सिद्धान्त गलत भयो भने सबै कुरा गलत हुने भन्दै छिपछिपे ज्ञानले क्रान्ति नहुने बताए । बास्तोलाले विप्लवमा उग्रवामपन्थी खोलभित्रको दक्षिणपन्थी अवसरवाद देखिएको औंल्याए ।
उनले विप्लवले भन्ने गरेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको, मूख्य नेतृत्वकोमा कल्पनावाद र आत्मसुरक्षावादी भएको दावी पनि गरे ।
साथै उनले विप्लवमा निषेधात्मक चिन्तन रहेको र उनी संशोधनवादमा फस्दै जुझारु अर्थवादी चिन्तनतिर गएका कारण आफूहरुले पार्टी पुननिर्माण गरी र क्रान्तिको झण्डा उठाउनु परेको बताए ।
संयोजक बास्तोलाले विप्लव सैद्धान्तिक रुपले नै विचलित भएका कारण संसदीय व्यवस्थाले गराएको स्थानीय चुनावमा गएको पनि बताए ।
बास्तोलाले विप्लवसितको पार्टीमा रहँदा पार्टीको केन्द्रीय समिति बैठकले पार्टी चुनावमा नजाने बरु एमसीसी विरोधी र देशभक्त उमेदवारहरुलाई सघाउने निणर्य भएको भएपनि त्यसलाई लत्याएर विप्लव र प्रकाण्डहरु हामी निर्वाचनमा जान्छौं, वातावरण बनाइदिनु पर्यो भन्दै देउवाकोमा गएको दावी पनि गरे ।
उनले पार्टी निणर्य विपरित तत्कालीन नेकपाका केन्द्रीय नेताहरु नै चुनावमा उमेदवार बन्न गएको बताए ।
यस्तै कञ्चनपुर जिल्लामा पनि सो पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
विवसको अध्यक्षता र ९औं महाधिवेशन आयोजक कमिटी सदस्य महानको प्रमुख आथित्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेताहरु अर्जुन, डम्बर विष्ट र समुद्र पनि सहभागी थिए ।