काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । उनले कोभिड–१९ बाट सुरक्षित रहनका लागि बेलायत सरकारले नेपाललाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।
मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरिन् ।
यस्तै, भेटमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताइन । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने उल्लेख गरिन्।