• बैशाख २३ २०८३, बुधबार

पाँच पत्रकार सङ्गठनलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न माग

बैशाख २५ २०७९, आईतवार

काठमाडौं । निर्वाचन आयोगले विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

संयुक्त अपिल जारी गरी पहिलो प्रवृत्तिका रुपमा सत्तारुढ पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन अगाडि आएको र दोस्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरेको भन्दै सत्ता गठबन्धनलाई मतदानका लागि गरेको आग्रह निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (घ)मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।