काठमाडाैं । शहरी विकास मन्त्री एंव नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो र पूरा नहुने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् ।
सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको बताएकी हुन् ।
ठूला-ठूला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने उनले बताइन् । एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक-पटक भोट हालेर नेतृत्वमा पुर्याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् ।