• बैशाख २३ २०८३, बुधबार

ओलीको अत्याचारका कारण ५ दलीय गठबन्धन बनेको हो : देउवा

बैशाख २४ २०७९, शनिबार

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले केपी ओलीको अत्याचारका कारण पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

आज बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।

‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’

उनले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनस्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताए ।

‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला,’ उनले भने । नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको बताए ।