काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबार कांग्रेस काठमाडौँ महानगर समितिले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौँका मेयरले गरेका कामको बारेमा नागरिकलाई जवाफ दिनुपर्ने बताएका हुन्।
चुनावको बेलामा गरिएको प्रतिबद्धताअनुसार काठमाडौँमा कति सफा भयो ?, काठमाडौँमा कति सहज भयो भन्ने प्रश्नकाे उत्तर महानगरवासीलाई दिनुपर्ने उनले बताए।
महामन्त्री थापाले भने , ‘पाँच वर्षअघि एमालेको सूर्य चिह्नमा मतदान गरेर, पाँच वर्षपछि चुनावमा आउँदै गर्दा गएको पाँच वर्षअघि तपाईँहरूले मेरो पार्टीलाई जिम्मा दिनुभएको थियो, मैले यो–यो काम गरेँ । म पाँच वर्ष यो गर्न चाहान्छु भनेर आउनुपर्ने होइन ? कहीँ चर्चा छ त्यसको ? चुनावमा कांग्रेस, एमाले जो जिताए पनि जवाफदेहिता नरहने हो भने आवधिक चुनावकाे के अर्थ हुन्छ ? त्यसैले यो चुनावमा एमाले उत्तर दिनैपर्छ । काठमाण्डाै कति सफा भयो ? उत्तर दिनैपर्छ । काठमाण्डाै कति सहज भयो ? उत्तर दिनैपर्छ । काठमाण्डाैलाई के बनाउँछु भनेको थियो ? के–के बनाइयो ? उत्तर दिनैपर्छ ।’
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारले महिलामाथि अपमान गरेको पनि बताएका छन् । उनले महिला हुनुलाई नै अयोग्यताको रूपमा हेर्नेहरूलाई काठमाडौँका महिलाले चुनावबाट उत्तर दिनुपर्ने पनि बताए ।