• बैशाख २३ २०८३, बुधबार

राष्ट्रपति भण्डारीलाई चुनावी तयारीबारे ब्रिफिङ गर्न शीतल निवास पुगे आयोगका पदाधिकारीको टोली

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीको टोली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका बारेमा चासो राखेको आयोगले जनाएको छ ।

विद्यादेवी भण्डारीसँग भएको भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा राष्ट्रपतिले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिइन् ।

‘आवधिक निर्वाचन सम्पन्न गर्ने आयोगको संवैधानिक कार्य भएको हुँदा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न आयोग सदैव क्रियाशील रहनुपर्ने साथै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूलाई जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना भएपनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूति सहित निर्वाचन सम्पन्न गर्ने तथा मत परिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो’, भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शीतल निवास पुगेका निर्वाचन आयोगका पदाधिकारीको टोलीमा प्रमुख आयुक्त सहित आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबराको उपस्थिति रहेको थियो।