• बैशाख २३ २०८३, बुधबार

कांग्रेसले कसैलाई धोका दिँदैन, धोकेबाजको ‘ब्लेम’ नलागोस् : देउवा

बैशाख २१ २०७९, बुधबार

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले धोका पाए पनि अरुलाई धोका दिने पार्टी नभएको बताएका छन्।
कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले कसैलाई धोका नदिने जिकिर गरे।

‘कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है। बरु कांग्रेस पार्टी धोका खाएको होला, धोका दिँदैन, देउवाले भने, ‘त्यस कारण कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ‘ब्लेम’ नलागोस्।’

उनले सत्ता गठबन्धन अहिलेको आवश्यकता भएको दोहोर्याउँदै गठबन्धनमा शंका उपशंका पैदा हुने काम कसैले नगर्न आग्रह गरे।

‘गठबन्धन अहिलेको लागि राष्ट्रिय आवश्यकता हो। गठबन्धनमा शंका उपशंका पैदा हुने काम हामीले गर्नु हुँदैन,’ प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो कर्तव्य पनि होइन।’

उनले आफूलाई प्रधानमन्त्री बन्ने रहनै नभएको समयमा अन्य दलको सहयोगमा प्रधानमन्त्री बन्नु परेको पनि स्मरण गरे।

‘यो गठबन्धन राष्ट्रिय आवश्यकताअनुसार बनेको हो। म चाँहदैन थेँ, सबैले ओलीलाई हटाउनु पर्यो भनेपछि म लागेको हुँ,’ देउवाले भने, ‘मलाई प्रधानमन्त्री बन्ने रहरै थिएन। सबै साथीहरुले सहयोग गरेपछि म भएको हो।’

उनले पत्रकारहरु अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग डराउने गरेको टिप्पणी गरे।

‘आज डर–त्रास छैन, कसैलाई पनि सरकारले डर–त्रास दिएको छैन। निर्धक्क भएर बोलिराखेका छन्,’ प्रधानमन्त्रीले भने, ‘उसबेला ओलीको खिलापमा बोल्न डराउँथे मान्छेहरु। पत्रकारहरु लेख्न डराउँथे। अहिले पनि उसँग डराउँछन्, मेरै खिलापमा लेख्छन्।’