काठमाडौं । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रौतहटका एक जिल्ला न्यायाधीशले उम्मेदवारका लागि सामाजिक सञ्जामा भोट मागेका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले ओखलढुङ्गाको एक स्थानीय तहबाट उठेकी एमाले उम्मेदवारको पक्षमा मत मागेका हुन् ।
रौतहटका जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङले निर्वाचन आचारसंहिता विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको पक्षमा सामाजिक सञ्जालमार्फत् मत मागेका हुन् । निर्वाचन आचारसंहिता अनुसार कुनै पनि सरकारी कर्मचारी वा न्यायाधीशहरुले समेत सामाजिक सञ्जालमा उम्मेदवारका लागि भोट माग्न मिल्दैन । तर, न्यायाधीश गुरुङले भने निर्वाचन आचारसंहिताको उल्लघन गर्दै सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् ।
निर्वाचन प्रयोजनका लागि तयार पारिएको भिडियो सामाग्री न्यायाधीश गुरुङले वैशाख २० गते मंगलबार सेयर गरेका थिए । यता निर्वाचन आयोगले भने न्यायाधीशले सामाजिक सञ्जाबाट भोट मागेकोमा ध्यानाकर्षण भएको बताएको छ ।