• बैशाख २३ २०८३, बुधबार

निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाउने खड्का पक्राउ

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । पोखराका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृतविरूद्ध धाक, धम्की र त्रास देखाएको भन्दै वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्कालाई पक्राउ गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीमा खड्कालाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गर्न माग गरेको छ। उक्त ऐनको दफा २० को उपदफा १ (घ) अनुसार कारबाही गर्न निवेदन आएको डिएसपी तिवारीले बताए।

निर्वाचनमा प्रभाव पार्ने कसुर तथा सजाय परिच्छेदअन्तर्गत उक्त दफामा निर्वाचन अधिकृत वा कर्मचारीलाई प्रभाव पार्ने गरी धाक, धम्की र त्रास दिन नहुने उल्लेख छ।

दिउँसो निर्वाचन कार्यालयले उक्त चिन्ह दिन नमिल्ने जानकारी गराएपछि उनीहरू आक्रोशित भएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझपख फेरि अटेरी समूहका स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्ह दिने निर्णय गरेको थियो। डिएसपी तिवारीले उजुरी अनुसार अनुसन्धान अघि बढाउने बताए।