• बैशाख २३ २०८३, बुधबार

प्रचण्डजी हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्, राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस् : ईश्वर पोखरेल

बैशाख १७ २०७९, शनिबार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेस प्रवेश गर्न सुझाव दिएका छन्।

माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त सुझाव दिएका हुन्।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले भने ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्, राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस्।’

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको उनले बताए। उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको पोखरेलको भनाई छ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन। यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन्। यो लडाइँ एमालेले जित्नुपर्छ।’

एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको धारणा छ।