चितवन। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएसँगै चुनावी अभियान सुरु गरेका छन्। शनिबार भरतपुरस्थित क्यान्सर अस्पतालपरिसरमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेपछि उनले चुनावी प्रचार सुरु गरेका हुन्।
अब महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका उनले रुख चिन्हबाट चुनाव लड्न खोजेको भए पनि नपाएको बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनलाई कांग्रेसले कारबाही गरिसकेको छ ।
आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको उनले बताएका छन् ।
मेयरका उम्मेदवार पौडेललाई मनाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए। तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । उनको उम्मेदवारी कायम भएको छ ।
मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको छ।
भारतपुरमहानगरको मेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छन् भने नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्।