चितवन ।चितवनको भारतपुर महानगरपालिकाका बागी उमेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो । पौडेलले ‘भुइकटहर’ चुनाव चिह्न पाएका छन् ।
यस्तै मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।
दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।
कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।