• बैशाख २३ २०८३, बुधबार

विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्छ : मन्त्री आले

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्। उनले नेपाली विदेशमा जाँदा त्यहाँका नागरिक सरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपाली सरह भाडा दर कायम गर्न आवश्यक रहेको बताए ।

मन्त्री आलेले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको जानकारी दिए । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले नेपाल कोरोनाको मारमा रहेकाले तत्काल त्याे समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको पनि बताए ।

मन्त्री आलेले आन्तरिक वायु सेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिए ।

त्यस्तै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थ मन्त्रीलाई बारम्बार भन्दा पनि सुनुवाइ नभएको गुनासाे गरे । विमानस्थलमा आउने विदेशी पर्यटक शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको उनले बताए।