• बैशाख २७ २०८३, आईतवार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलो बढी सुन सहित ५ जना पक्राउ

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलो बढी सुन सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमानस्थलका सफाइ कर्मचारी समेत रहेका छन् । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सुरुमा पाँचथरको याङवरक गाउँपालिका-४ का २८ वर्षीय भीमकुमार माबोल र नुवाकोटको तादी गाउँपालिका-५ का २७ वर्षीय सुमन तामाङलाई सुनसहित पक्राउ गरेको थियो । दुवै जना सुनगाभा सप्लायर्स एण्ड प्रालिमार्फत् विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी हुन् ।

दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र उनीहरु बिहीबार सरसफाइका लागि गएका थिए । जसमध्ये माबोले बिमानको शौचालय भित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याइ फोहोर जम्मा गर्ने स्थानमा आएर तामाङलाई दिएका थिए । उक्त बिस्कुटहरु उनीहरुले बाँडेर आ-आफ्नो पर्समा राखेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा स्क्रीनिङ गर्दा उनीहरुसँग सुन भएको पत्ता लागेको थियो ।

माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट थान-१० (तौल १ हजार १६६ ग्राम) र तामाङले बोकेको पर्स भित्र टेपले बेरिएको सुनको बिस्कुट थान-१० (तौल १ हजार १६६ ग्राम) बरामद भएको विमास्थल प्रहरीले जानकारी दिएको छ।

उनीहरु दुबै जनालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक वर्ष ४१ का हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइ गर्नेरगराउने भनी सुपरभाईजरको रुपमा ड्युटीमा खटिएका सप्तरीको सुरुङ्गा नगरपालिका-४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतको संलग्नता रहेको खुलेको छ।