काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।
गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले दबाब दिँदा पनि उनी पछि नहट्ने निर्णयमा पुगेका छन् ।
उनको यो निर्णयसँगै दुई दिनदेखि उनलाई मनाउन भरतपुरमा पुगेका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार काठमाडौं फर्किँदैछन्।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय आज (शुक्रबार) साँझ ५ बजेसम्मलाई तोकेकाले छ। त्यो समयसम्ममा उनको उम्मेदवारी फिर्ता गराउन सकिन्छ कि भन्ने कसरत अझै पनि चलिरहेको छ। तर, पौडेलले आफ्नो अडानमा टसमस भएका छैनन् ।
पौडेलले आफूलाई उम्मेदवारी फिर्ता लिन पार्टीभित्र बाहिरका विशिष्ट सरकारी, गैरसरकारी तहका उच्च पदस्थ धेरैले आग्रह गरेको पनि बताएका छन्। उनीहरूबाट धेरै आश्वासन पनि आएको भन्दै उनले आफूलाई त्यस्ता आश्वासनको लोभ नभएको बताएका छन्।
‘सयौं कार्यकर्ता मेरो घरमै आएर मलाई हौसला दिइराख्नुभएको छ। गाउँगाउँबाट टोली आइरहेका छन्,’ उनले भने, ‘मैले सोच्दै नसोचेको समर्थन प्राप्त भइरहेको छ।’
पौडेलले कांग्रेस पार्टी रूखका विरूद्धमा आफ्नो उम्मेदवारी नभएकाले पार्टीले आफूलाई कारबाही गर्ने कानुनी आधार नरहेको बताए। तर कारबाही गरिहाले पनि त्यसलाई सहने उनको भनाई छ । नेताहरुको आदेश सधैं मान्ने भए पनि चितवनको कांग्रेसलाई बचाउन सधैं सक्रिय पौडेल बताउँछन्।
उनले केन्द्रीय गठबन्धनमा आफ्नो विषयमा बोलिदिने एक जना मान्छे पनि नभएको उम्मेदवारी छोड भन्ने एक सुत्रीय माग मात्र राखिएको गुनासो गरे।