काठमाडौँ। उच्च अदालत कास्कीले बलात्कारको आरोप लागेका अभिनेता पल शाहले दर्ता गरेका दुइ छुट्टाछुट्टै निवेदन एकै साथ पेश गर्न आदेश गरेको छ।
बिहीबार उच्च अदालत कास्कीका कायम मुकायम मुख्य न्यायाधीश डल्लीराज आचार्य र श्री राजभण्डारीको संयुक्त इजलासले दुवै निवेदन (तनहँ र नवलपरासी )को एकै साथ पेश गर्न आदेश गरेको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता शाह उच्च अदालत कास्की पुगेका थिए।
चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। २०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।
त्यस्तै, एउटै प्रकृतिको घटना पूर्वी नवलपरीले पनि अभिनेता शाहलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो। शाहले उच्च अदालतमा निवेदन दिएपछि अदालतले थुन्छेक आदेशको मिसिल मगाउन आदेश गरेको थियो। सोही आदेश अनुसार तनहुँ जिल्लाको मिसिल उच्च अदालतमा पुगेको छ।