काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा भतेरी जङ्गलमा आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए अनुसार ठोक्किँदा बस र कारमा सवार २८ जना घाइते भएका हुन् । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए ।