• बैशाख २३ २०८३, बुधबार

एमसीसी पास हुनु नेपालका लागि ऐतिहासिक र महत्त्वपूर्ण काम हाे : गृहमन्त्री खाण

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहायता एमसीसी नेपालकै प्रस्तावमा आएको दाबी गरेका छन्। बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

गृहमन्त्री खाणले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि ठूलाे सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम–बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम–बारुद र सेना नआउने जिकिर गरे ।

गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले झन्डै चार वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । उनले भने, ‘यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्छ । यो ऋण हुँदै होइन, अनुदान हो । नेपालका लागि सहयोग हो । संयुक्त राष्ट्र सङ्घमा उठेको बहसलाई सम्बोधन गर्ने क्रममा यो सहयाेग प्रदान गरिएको हो ।’

गृहमन्त्री खाणले अहिले नेपालमा अर्थतन्त्रको समस्या रहेको बताए । उनले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताए । गृहमन्त्री खाणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुङ्गा साबित हुने दाबी गरे ।