काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका छन्।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रियामा उनले ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका हुन्।
एमाले अध्यक्ष ओलीले मंगलबार कांग्रेसको चुनावी घोषणा पत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले भने, ‘सनक्क सन्किँदा शरीरलाई अप्ठ्यारो पर्न सक्छ। शरीरको ख्याल राख्नुहोला।’
ओलीले कांग्रेसको घोषणा पत्रलाई पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र डा. गोविन्द केसीलाई पनि पागल भनेको स्मरण गरे।
‘झुटलाई कसैले च्यालेन्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो,’ थापाले भने, ‘सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो।’
उनले ओलीलाई ‘लजिक’ भन्दा पनि ‘म्याजिक’ मन पर्ने पनि टिप्पणी गरे। ‘ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ,’ घोषणा पत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले थपे, ‘मैले म्याजिकको कुरा गरेको छैन, लजिकको कुरा गरेको छु।’
उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए।