• बैशाख २३ २०८३, बुधबार

दुई नेतालाई कारवाही गरेसँगै विभाजनको संघारमा विप्लव नेकपा

बैशाख १४ २०७९, बुधबार

काठमडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेताहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई कारवाही गरेसँगै सो पार्टी विभाजनको संघारमा पुगेको छ ।

संगठनात्मक अराजकता मच्चाएको आरोप लगाउँदै विप्लवले ती दुई नेतालाई आज मात्रै कारवाही गरेका हुन् । यो घटनासँगै नेपाल कम्युनिस्ट पार्टी लगभग विभाजनतर्फ उन्मुख छ । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ ।

स्रोतका अनुसार कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने तयारीमा लागेका छन्। बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवम् कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि  सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’

महासचिव विप्लवले आफुहरु पार्टीमा यस्तो नहोस् भन्ने चाहँदा चाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निणर्य गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

‘तथापि हामी सबै पार्टी पङ्क्तिलाई बाह्रौं  पूर्ण बैठकका पारित प्रस्ताव र निणर्यहरुलाई रक्षा र कार्यान्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं’, विप्लवले भनेका छन् ।

उता सुदर्शन र कञ्चनले भने महासचिव विप्लव पार्टीको १२औं केन्द्रीय समितिको बैठकले गरेका निणर्यहरु उल्लंघन गर्दै सरकारले गराएको स्थानीय चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

सो पार्टीको केही समयअघि बसेको केन्द्रीय समितिको बैठकले संसदीय सत्ताले गराएको स्थानीय चुनावमा पार्टी सहभागी नहुने तर स्वच्छ छवि भएका, एमसीसी विरोधी तथा देशभक्त स्वतन्त्र उमेदवारलाई सहयोग गर्ने निणर्य गरेको थियो ।