काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि त्यही अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पारे ।
महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप समेत लगाएका छन् । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान समत गरे ।