• बैशाख २७ २०८३, आईतवार

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

बैशाख ९ २०७९, शुक्रबार

काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हो।

पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ।

जानकारी पाउनासाथ आफू घटनास्थल पुगेको पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए। उनका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन्।त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।