काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकबीच आज शिष्टाचार भेट भएको छ ।
गृह मन्त्रालयमा भएको सो भेटमा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थी कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई समेत धन्यवाद दिए ।
भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाँणले कोरियाली गाडी, मेसिन र मोबाइललगायतका कोरियाली प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए ।
भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण कोरियाली पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा पर्यटक आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताए ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।