• बैशाख २६ २०८३, शनिबार

तत्कालीन प्रदेश सचिव अधिकारीसहित चार जनालाई तीन वर्ष कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर

बैशाख ६ २०७९, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले गोलखबरलाई जानकारी दिए ।

उनीहरुविरुद्ध कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको भन्‍दै भन्दै उजुरी परेको थियो ।

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी भुक्तानी दिदाँ टिप्पणी सदर गरी ७ वटा मिनि टिलरको ६ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी लिएको पाइएपछि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साथै उनीहरुले सम्झौतापत्रमा उल्लेख भएबमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको KK-IC-300D मोडेलको १७ वटा र KK-IC-200P मोडेलको १२ वटा मिनि टिलर खरिद गरी प्रदेश सरकारलाई ३७,१५,००० हानी पुर्‍याई सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय खण्ड (ञ) बमोजिमको कसुर गरेको देखिँदा निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. ४३,३७,५००।- कायम तीन वर्षसम्मको कैद र विगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।