काठमाडौं । थुनामा रहेका पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पललाई पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै जाहेरीमा उल्लेख भएअनुसारको विवरण सत्य नभएको बताएकी छिन् ।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।
स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।
पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पीडितले नै बयान पछि फेरेपछि मुद्दा कमजोर बनेको छ।