सप्तरी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीति लिक भन्दा बाहिर गइसकेको टिप्पणी गर्दै लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने बताएका छन् ।
राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गए पनि कसैलाई चिन्ता नभएको बताए । उनले भने, ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ । तर यसतर्फ कसैको ध्यान छैन ।’
त्रिपाठीले राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धि गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धिमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।
अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वोच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।