काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्।
भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैँ अत्तालिएको अवस्थामा रहेको उउनको भनाई छ।
नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलैसम्म एकतावद्ध भएर जाने अवस्था नरहेको दोहोर्याए।
गठबन्धनका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरू आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रम मात्रै हुने बताए।
उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे।
उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जीत हाँसिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।