काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो आइतबारसम्ममा लागि सक्ने बताएका छन् ।
शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आजै बेलुकासम्ममा खाका तयार हुने बताए । उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताए। उनले फरक प्रसङ्गमा भरतपुर महानगरका विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ पालिका चुनावका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनले बताए ।