• बैशाख २६ २०८३, शनिबार

काठमाडौं महानगरले फोहोर वर्गीकरण नगर्नेलाई जरिवाना तिराउने

बैशाख २ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण नगर्नेलाई जरिवाना तिराउने भएको छ ।

यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न आग्रह गरेको महानगरले फोहर बोक्ने गाडीसम्म वर्गीकरण नगरेका फोहोर ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति ५०० रूपैयाँ जरिवाना तिराउने भएको हो ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्न आग्रह गरिन् ।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उनको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ ।

नुवाकोटको सिसडोल भरिनुका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले पछिल्लो पटक अवरोध गर्दा काठमाडौं उपत्यकाको फोहर १२ दिन सडकमै थुप्रिएको थियो ।