राजाराम दास, पोखरा । नववर्ष २०७९ को स्वागतमा विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल र्याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए ।
परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताए ।” उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउनु पर्नेमा जोड दिए ।
शुभकामना मन्तव्य राख्दै “हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र विक्रम सम्वत पात्रो अनुसार भगवान सूर्य १२ वटा राशीमा एक-एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने” हिन्दू स्वयमसेवक संघका ऋषिराम सापकोटाले बताए ।
कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि., विन्द्यवासिनी, सिम्पानी, बगर, महेन्द्रपुल, न्यूरोड, सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटाहुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो ।
परिषदका कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थियो ।