• बैशाख २२ २०८३, मंगलवार

नेपाल मैत्रिपूर्ण सहकार्यको बगैँचा हुनुपर्छ, भूराजनीतिक खेलको रणमैदान होइन : चिनियाँ राजदूत यान्छी

बैशाख २ २०७९, शुक्रबार

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् ।

उनले नेपाल र चीन असल छिमेकी मित्र रहेको बताउदै दुई देशले सधैं एक-अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गरेको बताइन। उनले कसैले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गरेको बताइन्।

राजदूत यान्छीले नेपालले आफ्नो आवश्यकताअनुसार तय गरेको विकासमार्गमा चीनको सदैव साथ र समर्थन रहनुका साथै नेपालको आन्तरिक र बाह्य परराष्ट्र नीतिलाई चीनले समर्थन गर्ने र नेपालको बीआरआईमा सामेल हुने निर्णयलाई चीनको समर्थन रहेको बताएकी छन्।

यस्तै उनले दुई देशबीच रेल्वेमार्ग बनाउनका लागि कामहरू भइरहेको र दुई देशका रेल्वे विभागबीच पत्रचारहरु भएको दाबीसमेत गरेकी छन् । उनले पूर्व सम्भाव्यता अध्ययनलगायत केही महत्त्वपूर्ण कामहरू भएको पनि बताइन् ।

राजदूत यान्छीले नेपालमा सडक, विमानस्थल, जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वधार विकासका लागि चीनले सहयोग गरिरहेको र बीआरआईले यो सहकार्यलाई नयाँ उचाइ दिने पनि बताएकी छन् । उनले नेपालले आफ्नो विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग लिन सक्ने र त्यसले नेपाल-चीनको सम्बन्धमा कुनै फरक नपर्ने पनि स्पष्ट पारेकी छन् ।