जनकपुर । मिथिला क्षेत्रमा नयाँ वर्षलाई स्वागत गर्दै आज सतुवाइन (सातु खाने) पर्व मनाइँदैछ ।
मधेस प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभंगा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।
सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए।
आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ। सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशिर्वादसमेत दिने गर्दछन्। परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ।